शर्मिला गुरुङः लोकदोहोरीकी सदावहार नायिका

माेहन गुरुङ । नेपाली लोकदोहोरी क्षेत्रका सदावहार गायिका हुन्, शर्मिला गुरुङ । उनीद्वारा स्वरबद्ध गीतहरु नसुन्ने विरलै होलान् । उनका सिर्जनामा मौलिकता पाइन्छ । लोकदोहोरी गीतको वास्तविक परिचयरय/पहिचान पाइन्छन् । यसैले उनी लोकदोहोरी क्षेत्रमा सदावहार नायिकाको रुपमा स्थापित छिन् ।

गायिका शर्मिला गुरुङमा नेपाली हावापानी र माटो सुहाउँदो गीत गाउने सक्ने खुबी छ । लय, शब्द र संगीतको सिर्जनामा पनि । मौलिक सिर्जनाले श्रोता तथा दर्शकको मनमा बस्न सफल भएकी छन् । उनको कला र गलामा नलठ्ठिने मान्छेहरु विरलै भेटिन्छन् ।

रेडियो नेपाल क्षेत्रिय प्रसारण केन्द्र पोखरामा उनले पहिलो पटक गीत गाएकी हुन् । रेडियोबाट प्रसारण हुने ‘देउराली’ कार्यक्रमबाट उनको संगीतिक यात्रा शुरु गरेको हो ।

गायिका गुरुङले २०५६ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेकी थिइन् ।

‘गहना’ उनको पहिलो एकल एल्बम हो । ‘गहना’ मा ‘सरर बरको छाँयालाई’, ‘फर्क मुग्लानी’ लगायत छ वटा गीत समावेश गरिएको थियो ।

‘निलो पछ्यौरी’ उनको पहिलो रेर्कडिङ गीत हो । ‘मिर्मिमुनी काली थुनेको’, ‘बल्लै भो भेट’, ‘चौतारीको बर’, ‘रानी घाटैमा’, ‘काली गंगा तरे’, ‘राम्दी पुल’, ‘जाने बेला भैन र ?’, ‘फाटी सक्यो होला, मैले बोक्ने डोको’, ‘राधा’, ‘सुनचाँदी’ उनका चर्चित गीतहरु हुन् । सुमधर स्वरकी धानी गायिका गुरुङले करिब दुई हजार जति गीत गाइसकेकी छन् । ‘रानीफूल’ र ‘बैना मरुँ’ लोकदोहोरी गीत उनको पछिल्लो गीत हो ।

सालैजोकी रानी

‘सालैजो गीतकी रानी’ भनेर गायिका शर्मिला गुरुङलाई चिनिन्छन् । धेरै सालैजो गीत गाउने गायिका हुन्, उनी ।
‘जता हेरे पनि गाँउ र घर’, ‘तानसेनै बजार’, ‘हितैको माया, मिनी बसमा जाँउ है पोखरा’, ‘कति दिन बस्छ्यौं’, ‘दशैंको बेला, मनकामनाको मेला’, ‘फूलको थुङ्गा’, ‘हितैको माया’, लगायत करिब तीन दर्जन सालैजो गीतहरु पनि चर्चित छन् । सालैजो विशेषगरी गुरुङ र मगर समुदायमा प्रचलित छ । नेपालका कुना–काप्चा, शहर–बजार देखि विदेश सम्म उनको सालैजो घन्किन्छन्, घन्काउछन् । मेलापात, चाडपर्व, मेला–महोत्सव, रोधीँ घरमा उनले गाएका सालैजो घन्किन्छन् ।

तीजकी गायिका

माहन गुरुङ । लोकगीत, लोकदोहारी गीत र सालैजो बराबर तीज गीत पनि गायिका गुरुङले गाएकी छन् । उनले गाउने गीज गीतमा मौलिकता, यथार्थ, वास्तविकता हुन्छ । गाउँघरका शब्दलाई टपक्क टिपेर सिर्जना गर्छिन् । गीत बनाएर गाउँछिन् । त्यस्ता खाले सिर्जनाहरु सबैका मनमुटुमा बस्न सफल हुन्छन् ।

‘हाम फालेर मरुँ कि त्रिशुलीको पानीमा’ पहिलो तीजगीत हो । ‘सिन्दुर छैन संगिनी हो’, ‘सुनिदिनु दिदीबहिनी’,‘ आज मेरो माइत जाने पालो’, ‘मादलुको तालैले’, ‘स्वर्ग झै प्यारो माइती देश’, ’मनमा छ पीरालो’ ‘फूल जस्तो मुहार’, ‘बिरानो माइती’, ‘तामैको अचार’, ‘आमा’ लगायत दर्जनौं तीजगीत गाइसकेकी छन् ।

‘ङै क्याँ’, ‘ह्युलै माया’, ‘काशी’, ‘मनको बबारी’ लगायत करिब दुई दर्जन जति गीत गुरुङ भाषा र काैडागीत समेत गाएकी छन् ।

बरिष्ठ गायक पुरुषोत्तम न्यौपानेलाई उनी गुरु मान्छिन् । गोपाल जि.टी. र सुविन गुरुङ पनि उनले सम्झने नामहरु हुन् । उनीहरुसँग गाउँको रोधीँ र साँस्कृतिक कार्यक्रममा सँगै हिँड्ने गरेकाे विगत सुनाइन् । उनीहरुबाट गीत गाउन लगाउने र सागीतिक क्षेत्रमा लाग्ने हौसला र प्रेरणा पाएको उनी बताउँछिन् ।

गायिका गुरुङ भन्छिन्, ‘म गायिका शर्मिला गुरुङ हुन्छु, बन्छु भन्ने सोचेकी थिइँन । आज पाएका चर्चा, लोकप्रियता र वाही–वाही झनै कल्पना भन्दा बाहिरको कुरा थियो ।’ हजाराैं संघर्षले यहाँसम्म आएकी हुँ ।

उनीमा गीत गाउँन रहर जाग्थ्यो । गाउँमा हुने रोधीँ जन मन पर्थ्याे । तर, बाबा भारतीय सेनाका भएकाले उनलाई त्यो वातावरण मिलेन । बाबा अलि कडा स्वभावका हुनुहुन्थ्यो । तर, आफू लुकिछिपि हिँडेको उनी सुनाउँछन् । गाउँलेले फलनोको छोरी गीत गाउने भईछे । अब बिग्रिन्छे भन्ने खालका आरोप खेपेको उनी सुनाउँछिन् । हिजो उनलाई र लोकदोहोरीगीतलाई नराम्रा मान्नेहरु आज उनकै गीत सुनेर मनोरञ्जन लिन्छन् ।

‘म सीमा नाघेर कहिले पनि हिँडिन । आफ्नो गन्तव्यलाई प्रधान ठानेर अघि बढेँ,’ उनले भनिन्, ‘अग्रजरुको साथ–सहयोग, मेहनतलाई निरन्तरता दिएँ ।,’

गायनको यात्रा करिब दुई दशक पार गरेकी छन्, उनले । लोकदोहोरी क्षेत्र सर्वस्व हो, उनका लागि । लोकदोहोरी क्षेत्रका अनुजलाई अवसरसँगै चुनौति, चुनौतिसँग अवसर रहेकाे उनले सुझाइन् । कलाकारितामा मान, सम्मान र इज्जत सबै पाउने उनको भनाई छ । तर त्यसलाई जाेगाइराख्न चुनाैति आउने उनले अनुभव सुनाइन् ।

नामसँगै पैसा पनि कमाएको छ। गीत गाएरै काठमाडौंमा घर बनाएकी छन् । भाई–बहिनीको हुर्काई, बढाई, पढाई उनले नै गरेकी हुन् । देउराली कार्यक्रम, पोखराको सरगम दोहोरी साँझ, सोल्टी दोहोरीसाँझ र काठमाडौंको पुकार साँझको यात्रा हुँदै उनी अहिले देशकै सदावहार नायिकाका रुपमा स्थापित छिन् ।

लोकदोहोरी क्षेत्रमा उच्छृङ्खल र विकृति भित्रिएको भन्दै उनले दुःख व्यक्त गरिन् । दोहोरीमा फोहोरी बढ्दै गएकोमा उनमा चिन्ता छ । कलाकारहरुले आफु र पेशालाई बुझ्न नसक्दा कलाकारिताको भविष्य के भन्ने बारे अन्यौल सिर्जना भएको उनको भनाई छ ।

प्रतिक्रिया

Facebook Comment