गर्भावस्थामै ‘स्मार्ट सिटी वालिङ’

स्थानीय निर्वाचन सम्पन्न भएको चारवर्ष बढी भयो । २०७४ वैशाख, असार र असोजगरी तीन चरणमा निर्वाचन सम्पन्न भएको थियो । संघिय शासन प्रणालीको पहिलो निर्वाचन ‘स्थानीय निर्वाचन–२०७४’ हो । 

वालिङमा ‘स्थानीय निर्वाचन–२०७४’मा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र लगायतका दलहरुले प्रतिस्पर्धा गरेको थियो । नेपाली कांग्रेसका उम्मेदवार दिलीपप्रताप खाँड (मेयर) र कल्पना तिवारी (उपमेयर) निर्वाचित भइन् । नेकपा (एमाले)का पूण्यप्रसाद अर्याल (मेयर) र खगिसरा थापा मगर (उपमेयर) उपविजेता बने । 

चुनावमा सबै राजनीतिक दल र उम्मेदवारले फरक–फरक घोषण–पत्र बाँडियो । तर, विजेता र उपविजेता उम्मेदवारको घोषण–पत्रका नसमेटिएका वाक्य/बुँदा ‘स्मार्ट सिटी वालिङ’ चुनावपछि एकाएक चर्चामा आयो । निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यकालको प्रमुख एजेण्डा नै बनाएका छन् । 

‘स्मार्ट सिटी वालिङ’ले चर्चा ह्वात्तै पायो । जनप्रतिनिधिले वाहीवाही पाए । पत्रपत्रिकामा प्रमुख समाचार बन्यो । दिनजसो वालिङको समाचार पत्रिकामा छापिरह्यो । तर, जति चर्चा र परिचर्चा भैरहेका छन् ‘स्मार्ट सिटी वालिङ’को कार्यले गति लिन सकेका छैनन् । जनप्रतिनिधिले आफ्नो कार्यकाल सकिन लागेको पत्तो छैन, अझै ‘स्मार्ट सिटी वालिङ’ नारा घन्काइरहेछ । 


के हो स्मार्ट सिटी ?

सन् २०१०मा चीनले ३ सय Smart City बनाउने घोषण गर्‍यो । सन् २०१५मा भारतले  १ सय शहरलाई Smart City पनि । छिमेकको प्रभाव नेपालमा पनि गर्‍यो । नेपालले २०७३ नेपालका १० वटा शहरलाई ‘स्मार्ट सिटी’ बनाउने घोषण गर्‍यो । ‘स्मार्ट सिटी’ बनाउन घोषण भएका १० वटा शहरहरुले ‘स्मार्ट सिटी’को महत्वाकांक्षी सपना देख्ने थाले । अध्ययन र अनुसन्धान बिना ‘स्मार्ट सिटी’को नारा लगाउन थाले । 

‘स्मार्ट सिटी’ अन्र्तगत दीगो विकास र स्मार्ट अनुप्रयोगमा रहेर वातावरणीय विकास अन्तर्गत स्वच्छ हावा, शुद्ध पिउनेपानी, योजनाबद्ध भू–उपयोग, ओजोन र हरितगृह तहको प्रभाव घटाउने, प्रकृतिको संरक्षणगरी बस्न योग्य हुनु अनिवार्य छ । त्यस्तै आर्थिक विकासको क्रममा उद्योग, व्यापार, रोजगारी बढाई आय–आर्जन, उत्पादनमा जोड, योजनाबद्ध भौतिक निर्माणगरी सामाजिक विकासमा गुणस्तरीय स्वास्थ्य, शिक्षाको विकास, समान अवसरको बढी भन्दा बढी सहभागिता हुनुपर्छ । 

समयसँगै आधुनिक प्रविधिको उपयोग र हरेक नागरिकको आम्दानीको प्रत्याभूति आदिको उचित व्यवस्थापन र नागरिकलाई उचित सुविधा, सुरक्षा र शहरको दीगो विकास बीचका व्यवस्थापन नै Smart City हो । 

वालिङमा ‘स्मार्ट सिटी’को सोँच

वालिङलाई ‘स्मार्ट सिटी’ बनाउने सोँच तत्कालिन नगरपालिकाका कार्यकारी प्रमुख सुरथ पोखरेलले गरेका हुन् । १९ औं नगर परिषद २०७३ मा उनले वालिङलाई ‘स्मार्ट सिटी’ बनाउने प्रस्ताव लगेका  हुन् । सोही नगर परिषदले पारित गरेका १४ बुँद मध्ये Wifi सहितको ‘स्मार्ट सिटी’ पनि एक हो ।

तत्कालिन संयन्त्रमा रहेका राजनीतिक दलको सहमति सहित कार्यकारी प्रमुख पोखरेलले १९ औं नगरपरिषदबाट ‘स्मार्ट सिटी वालिङ’ एजेण्डा पारित गर्‍यो । उक्त परिषद्मा नेपाली कांग्रेसको तर्फबाट हालका मेयर दिलीपप्रताप खाँड, नेकपा (एमाले)का तर्फबाट शोभाकान्त पौडेलले लगायतका राजनीतिक दलका प्रतिनिधिको उपस्थिति थियो । 

सोही आर्थिक वर्ष नेपाल सरकारका तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा वालिङ सहित मुलुकका १० वटा शहरलाई ‘स्मार्ट सिटी’ बनाउने घोषण गर्‍यो । वालिङलाई नगर परिषदले पहिलै पारित गरिसकेको थियो ।

४ वर्षमा के–के भयो ?

१. सडक पूर्वाधारमा निर्माण कार्य सुरु

चारवर्ष बढी हुँदा वालिङमा देखिने पूर्वाधार निर्माण गर्न सकेनन्, विकास भएका छैनन्–एकादुई अपवादमा बाहेक । सिद्धार्थ राजमार्गलाई चौडा र आँधीखोलामा करिडोर बनाउने कार्य गरियो । ४ करोड बढी रकम सडक निर्माणमा खर्चिएको छ । संघिय र प्रदेश सरकारको काम नगरपालिकाले गर्दा काम अधुरो र अपुरो छ । बोलपत्र मार्फत निर्माण प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा उपभोक्ता समिति गठनगरी निर्माण कार्य गरियो । निर्माण कार्यमा पारदर्शीता नभएको भनी जनगुनासो व्यापक रहँदै आएको छ । आँधीखोला करिडोर निर्माण कार्य अझै सम्पन्न भएको छैन । ग्रामीण सडक विस्तार कार्य मात्रै भएको छ । नयाँ सडक निर्माणमा खासै चासो देखिएको छैन । वालिङ चक्रपथ योजनाको कार्य सुरु नै भएको छैन । 

२. स्मार्ट प्रशासन र स्मार्ट सेवा सुविधा नारामा मात्रै सिमित

नगरपालिकाद्वारा के र कस्ता खाले सेवा सुविधा दिइन्छ भन्ने बारे नागरिक अनभिज्ञ छन् । स्मार्ट प्रशासन र स्मार्ट सेवा सुविधाको नारा नारामा मात्रै सिमित रहेकोछ । नगरपालिकाले के र कस्ता सेवा दिइन्छ भन्ने बारे करिब ५६ प्रतिशत नागरिकलाई थाहै छैन । नगरकार्यपालिका (नगरपालिका)कार्यालय र वडा कार्यालयबाट दिइने सेवाका बारेमा नागरिक बडापत्रमा उल्लेख छ । तर, करिब ८१ प्रतिशत नागरिकलाई बडापत्र बारे थाहै छैन । 

सेवा सुविधाका बारे नगरपालिका र वडा कार्यालयमा गुनासो गर्दा करिब ८४ प्रतिशतको गुनासो सुनुवाई नै नभएको पाइएको छ । नगरपालिकाले अनलाइन मार्फत भुक्तानी प्रक्रिया गरेका छन् । तर, सो सेवा र सुविधाका बारे जानकारी नहुँदा प्रभावकारीता बारे प्रश्न चिन्ह खडा भएको छ ।

३. महत्वाकांक्षी नारा ‘समृद्ध वालिङ, सुखी नगरवासी’

नगरपालिकाले ‘कृषि, उद्योग, ब्यापार, पर्यटन, उर्जा, सूचना प्रणाली र पूर्वाधार Smart City निर्माण’ भन्ने नाराका साथ ‘समृद्ध वालिङ, सुखी नगरवासी’ बनाउने लक्ष्य लिइएको छ । नगरपालिकाले एक गाउँ एक उत्पादन (OVOP), एक रंगका घर, एक वडा एक सहकारी र १२ हजार स्वरोजगार बनाउने नीति, कार्यक्रम र बजेट बनाई अल्पकालिन र दीर्घकालिन योजना र रणनीति निर्माण गरेको छ । नगरपालिकाले Seed Money को व्यवस्था, असल कृषक वा समुहलाई नगरपालिका धितो जमानी बसी ऋणको व्यवस्था गर्ने लक्ष्य रहेको छ । पाँच वटा औद्योगिक क्षेत्र स्थापना गरी ४ हजार जनालाई रोजगार दिने लक्ष्य रहेको छ । पतंञ्जली योगपीठसँग ग्रामीण विकास परियोजना अन्तर्गत २ हजार जनालाई रोजागारी बनाउने महत्वाकांक्षी योजना रहेको छ । तर यी योजनाहरु व्यवहारिक, कानुनी र जनप्रतिनिधिकै कारणले कार्यन्वयन हुन सकेका छैनन् ।


४. स्मार्ट नागरिकका लागि ठोस योजना खै ?

स्मार्ट सिटीका मेरुदण्ड नागरिक हुन् । नागरिकका चेतनाको विकास नै स्मार्ट सिटीको आधार हो । नगरपालिकाले आफ्ना नागरिकलाई ‘स्मार्ट सिटी’ के हो भन्ने बारे साक्षरता (जानकारी) दिइएको छैन् । 

सतही रुपमा मात्रै स्मार्ट सिटी बारे बहस र छलफल चल्ने गरेको छ । नगरपालिकाले ल्याउने नीति तथा कार्यक्रमलाई सही र सदूपयोग ढंगबाट कार्य सम्पादन गर्ने दायित्व नागरिकको हुन्छ । नागरिकलाई सूचना, सञ्चार, प्रविधिको प्रयोग, ज्ञान, सीप र क्षमताको विकास गर्न विभिन्न खालका कार्यक्रमहरु अगाडि सानुपर्ने हुन्छ । गैरसरकारी संस्था Sharecast Initiative Nepal ले गरिएको संवेक्षणले वार्षिक योजना तर्जुमा गर्दा करिब ५८ प्रतिशत नागरिकलाई थाहै नपाएको तथ्याङ्कमा उल्लेख छ । 

५. वालिङ पिंक (गुलाबी वालिङ)बारे नागरिकलाई हैरानी

वालिङलाई ‘पिंक सिटी’ बनाउने निर्णय २०७४ असार ३० गते सम्पन्न नगर कार्यपालिकाको पहिलो नगरसभाले पारित गरेको हो । वालिङलाई ‘पिंक सिटी’ बनाउने अर्थात सबै घरमा गुलाबी रंग लगाउने पर्ने नगरकार्यपालिकाले निर्णय गर्‍यो । ‘वालिङ पिंक’ नामको छुट्टै ब्राण्डको रंग बन्यो । नयाँ बन्ने घरमा ‘पिंक’ नलगाएमा घर सम्पन्न प्रमाण–पत्र समेत पाउदैनन् । नगरपालिकाको निर्णयले नागरिकलाई हैरानी व्यहोर्नु परेको गुनासोछ । अन्य रंगको तुलनामा ‘पिंक’ (गुलाबी) रंगलाई घामले छिटो खाने र रंग छिट्टै सेतो हुने भएकाले गुलाबी रंग अभियानबारे नगरपालिकाले पुर्नविचार गर्न नागरिकको आग्रह छ । 

६. स्थापना मात्रै भयो ‘इन्नोभेसन सेन्टर’

स्थानीय स्तरमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले नगरपालिकाले ‘इन्नोभेसन सेन्टर’ स्थापना गर्‍यो । स्मार्ट वालिङका लागि प्रविधि निर्माण र उत्पादन होस् भन्ने हेतुले नगरपालिकाको आफ्नै भवनमा भित्र ‘इन्नोभेसन सेन्टर’ छ । स्मार्ट वालिङका लागि विभिन्न १०६ वटा सूचक मध्ये ‘ईनोभेसन सेन्टर’ एक हो । नगरभित्र मात्र नभएर नेपाललाई उच्च प्रविधिको विकासमा टेवा पुर्‍याउने महत्वाकांक्षी उद्देश्य नगरपालिकाले लिएको छ । 

१ वर्षे कोर्षमा ६ महिना सैद्धान्तिक र ६ महिना प्रयोगात्मक प्रशिक्षण दिइने नगरपालिकाले जनाएको थियो । हाल भने ‘इन्नोभेसन सेन्टर’ बन्द छ । वालिङ नगरभित्रका विभिन्न विद्यालयका  करिब १ सय भन्दा बढी इन्नोभेसन सेन्टरमा भर्ना भएको थियो । ‘इन्नोभेसन सेन्टर’ का सञ्चालक/प्रशिक्षक नगरप्रमुख र वडा नम्बर ८ का अध्यक्षका छोराहरु हुन् । 

७. पिपिपि मोडेलमा लगानी भित्र्याउने योजना अझै कार्यन्वयन भएन

नगरपालिकाले पिपिपि मोडेलमा लगानीभित्र्याउने भित्र्याउने लक्ष्य लिइएको थियो । नगरपालिकामा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने योजना बनाएका थिए । सरकारी, गैर–सरकारी तथा नीजि कम्पनीहरुसँगको सहकार्यमा लगानी भित्र्याउने प्रचार–प्रसार भयो, गर्‍यो। नगरपालिका भित्र विभिन्न प्रकृतिका ५ वटा ठूला उद्योगहरु स्थापना गर्ने लक्ष्य थियो । पतंञ्जली लगायतका विभिन्न दातृनिकायहरुसँग सम्झौता भए तर कार्यन्वयनमा आएको छैन ।

८. फोहरमैला व्यवस्थापनमा अब्बल वालिङ

नगरपालिकाको सफल कार्य मध्ये फोहरमैला व्यवस्थापन हो । जनप्रनितिनिधिहरुलाई तपाईहरुको कार्यकालमा के–के काम भयो ? भनेर सोधे भने सजिलै पाउने उत्तर हो–फोहरमैला व्यवस्थापन गरियो । फोहारमैला व्यवस्थापनका लागि सरसफाई केन्द्र छ । यो सोँच र कार्य प्रारम्भ पनि तत्कालिन कार्यकारी प्रमुख सुरथ पोखरेलको पालामा भएको हो । नेपाल सरकारका तात्कालिन मुख्य सचिव लिलामणी पौडेलले उद्घाट्न गरेका हुन् । नेपाल सरकारबाट २०७३ सालमा फोहोरमैला व्यवस्थापन तथा स्रोत परिचालनमा देशभर उत्कृष्ट नगरपालिका घोषण गर्‍यो । ७ लाख पुरस्कार पनि पायो ।

९. होमस्टे (घरबास) को राजधानी

नगरपालिकाले वालिङलाई होमस्टेको राजधानी बनाउने लक्ष्य राखिएको छ । ग्रामीण पर्यटनलाई प्रवद्र्वन गरी त्यस भेकका नागरिकलाई स्वरोजगार र रोजगार बनाउने उद्देश्यले होमस्टे (घरबास) को राजधानी बनाउन लागिएको हो । 

नगरपालिका भित्र करिब आधा दर्जन होमस्टे सञ्चालनमा छन् । पित्लेक देउराली होमस्टे, सुन्तलाबारी होमस्ट, बझकोट होमस्टे र सिर्सेकोट मैदान–घुरुङ्खा होमस्टे आदी । आन्तरिक तथा वाह्य पर्यटकहरुलाई भित्र्याउने लक्ष्य सहित होमस्टे सञ्चालनमा ल्याइएको हो । होमस्टे सञ्चालनले नगरभित्रका सबै जात–जातिका भाषा, धर्म, संस्कार र संस्कृतिको जगेर्ना, संरक्षण र सम्बद्र्वनमा महत्वपूर्र्ण भूमिका खेल्ने नगरपालिकाले लिएको छ । तर, होमस्टे सञ्चालनका लागि न्यूनत्तम मापदण्ड पनि पुरा गर्न सकेका छैन । होमस्टेमा पुग्नका लागि सडक सञ्जालको पहुँच अझै सहज छैन । 

१०. नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य पहिचान र संरक्षण खै ?

नगरपालिका भित्र पर्यटकीय गन्तव्य पहिचान र संरक्षणका लागि ठोस योजना अगाडि बढाएको छैन । प्राकृतिक मनोरम दृश्यका लागि पर्यटकीय गन्तव्य र साहसिक पर्यटनका लागि नगरपालिकाको योजना अझै स्पष्ट बन्न सकेको छैन । नगरभित्रको धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, मनोरम दृश्यवलोकनका लागि गन्तव्यहरु पहिचान गरी अल्पकालिन र दीर्घकालिन योजनाहरु बनाउनु जरुरी छ ।  वालिङका प्रमुख केही पर्यटकीय गन्तव्यहरुः स्वरेक मैदान, मन्साङकोट, बाहुनथान (खाँणदेवी), गह्रौंसुर (कालिका र भगवाती मन्दिर), घ्वाङ्खोला, अकलादेवी, थामको चौर (थामडाँडा) लगायतको ठाँउलाई पहिचान सहित संरक्षण गनुपर्नेछ । 

११. चार वर्षमा ५ करोडको सवारीसाधन !

स्थानीय निर्वाचनपछि नगरपालिकाले करिब ५ करोड सवारीसधानको किनेको छ । मेयर र उपमेयरका लागि स्र्कापियो गाडी, वडा अध्यक्षहरुलाई ५ वटा मोटरसाइकल र ७ वटा स्कुटर किनिएको छ । त्यस्तै डोजर, भ्याकुलोडर, रोलर, दुईवटा टिप्पर र एक वटा ट्याक्टर किनिएको छ । 

१२. खेलकुद पूर्वाधारमा शून्य प्रगति

स्मार्ट नगरका लागि खेलकुद पूर्वाधार मुख्य मेरुदण्ड हो । ‘एक पालिका एक रंगशाला, वडा एक खेलकुद मैदान’ संघिय सरकारको अवधारण रहेको छ । ‘स्मार्ट सिटी’का लागि तातेताते अवस्थामा रहेको वालिङमा एउटा पनि रंगशाला बनेको छैन । सामान्य फूटबल, भलिबल, क्रिकेट मैदान पनि छैन । तर, वालिङका फूटबल र भलिबलका जिल्ला, प्रदेश र राष्ट्रिय खेलाडीहरु उत्पादन भैरहेका छन् । 

१३. तीन पटक पुरस्कृत–वालिङ नगरपालिका

वालिङ नगरपालिका आर्थिक वर्ष २०७२/०७३मा नेपालभर उत्कृष्ट नगरपालिका घोषित भयो । सरसफाई र कार्य सम्पादनमा उत्कृष्ट घोषित नगरपालिकाले ८ लाख पुरस्कार समेत पायो । त्यस्तै आर्थिक वर्ष २०७४/०७५ कार्य सम्पादन र २०७६/०७७ विपद व्यवस्थापन र कार्य सम्पादनमा पुरस्कृत भएको थियो । 

के भन्छन् सरोकारवाला ‘स्मार्ट सिटी वालिङ’ बारे


दिलिपप्रताप खाँण, मेयर–वालिङ नगरपालिका

२० वर्षको ‘प्लान’को पहिलो Basic City Pland मा छौं । Basic City Plan अन्तर्गत तेस्रो वर्ष पुरा ग¥यौं । शहर निर्माणका लागि ३ चरण पुरा गर्नुपर्छ । हामी अहिले गर्भावस्थामै छौं । सुनेको र सोँचे जस्तौ सजिले ‘स्मार्ट सिटी’ बन्न समय लाग्छ । प्रतीक्षाको फल मिठो हुन्छ । वालिङ जसरी पनि ‘स्मार्ट सिटी’ बन्छ । हाम्रै पालमा सम्भव छ ।


कल्पना तिवारी, उपमेयर-वालिङ नगरपालिका 

नेपाल सरकारले घोषण गर्‍यो । बजेट र विज्ञताको सहयोग र व्यवस्थापन भएन । हाम्रो प्रयासले ज सक्यो त्यही अनुसार गरिरहेका छौं । दीगो विकास लक्ष्यसँगसँगै ‘स्मार्ट सिटी’लाई अगाडि बढाएका छौं । 

‘स्मार्ट सिटी’ बारे अनभिज्ञता रहनुले पनि ठोस रुपमा केही गर्न सकेका छैनौ । ‘स्मार्ट सिटी’ बनाउन आवाज उठाएका हौं । हजार माइल हिड्न छ । बल्ल केही पाइला अगाडि सारेको छौं ।


पुण्यप्रसाद अर्याल, मेयर पदका उम्मेदवार, स्थानीय निर्वाचन २०७४

मेयरका कार्यशैलीले ‘स्मार्ट सिटी’ बन्दैन । राजनीतिक आस्थाका आधारमा सरकार चलाउँदै आउनुभएकोछ । साँघुरो सोँचले ‘स्मार्ट सिटी’ बन्दैन । कानुनी रुपले अन्य प्रतीपक्षी दलसँग समन्वय र सहकार्य बाध्यात्मक व्यवस्था नभएपनि सबैदलको सहमतिमा वालिङ बनाउन आवश्यक छ । चुनाव २/४ सय भोटले कस्ले जित्यो त्यो अर्थ राख्दैन । त्यो विषय गौण हो । सबैसँगको सहकार्यमा वालिङको विकास हुनु जरुरी छ । हालको नेतृत्व हेर्दा त्यो ‘स्मार्ट सिटी’को दिशामा गएका देखिदैन । 


राजन भट्टाराई, प्रशासकिय प्रमुख, वालिङ नगरपालिका

हामी स्मार्ट सिटीको पहिलो चरणमा छौं । अर्थात Basic City को चरणमा छौं । यो चरण पार गर्न ८ वर्ष लाग्छ । यसको लगत्तै हामी दोस्रो चरण अर्थात Sustainable चरणमा हुनेछौं । यो चरण पार गर्न करिब १२ वर्ष लाग्छ । सामान्य अर्थमा भन्नुपर्दा Smart City बन्न २० वर्ष लाग्छ । 

नगरपालिकाको नीति, नियम र कार्यविधिहरु Smart City Waling सँग सम्बन्धित भएर बनाएका छौं । योजना, बजेट र कार्यक्रमहरु पनि । नेपाल सरकारले हाल १२ वटा शहरलाई स्मार्ट सिटी बनाउन प्राथमिकता राखेका छन् । यसै आर्थिक वर्षदेखि Smart City का लागि बजेट विनियोजन गर्छु भन्नुभएको छ ।

अन्तमा, ‘स्मार्ट सिटी वालिङ’ गर्भावस्थामै छ । Smart City Waling बन्न २० वर्ष लाग्छ । हामी पहिलो Basic Cityको चरणमै छौ । Basic City को चरण ८ वर्षको हुन्छ । बल्ल तेस्रो बर्ष पुरा भयो । यस्तै Sustainable City को अवधि १२ वर्षको हुन्छ । यी दुई चरण पुरा गरेर मात्र  Smart City Waling बन्नेछ । त्यसैले अझै १७ वर्ष  Smart City Walingका लागि प्रतीक्षा गरौं ।






प्रतिक्रिया

Facebook Comment