वालिङः २५ वर्षपछि कांग्रेसको गढ भत्कियो

६ जेष्ठ २०७९, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा नेकपा (एमाले)ले २५ वर्षपछि जित हासिल गरेको छ । एमालेका तर्फबाट मेयर पदका उम्मेदवार कृष्ण खाँणले कांग्रेसका उम्मेदवार दिलिपप्रताप खाँणलाई हराएका हुन् । 

कृष्ण खाँणले १३ हजार ७७६ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्दी दिलिपप्रताप खाँणले ११ हजार ५९३ मत ल्याए । उनीहरु बिचको मतान्तर दुई हजार ८३ रहेको छ । 

बहुदल आएपछि (२०४९) वालिङ गाउँ विकास समिति (गाविस)का लागि पहिलो निर्वाचनमा कांग्रेसका उम्मेदवार भोजराज अर्याल निर्वाचित भएका थिए । उनले एमालेका उम्मेदवार मानकाजी श्रेष्ठलाई हराएका थिए । 

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा वालिङ नगरपालिकाका लागि कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार भोजराज अर्याल निर्वाचित भए । उनी वालिङ नगरपालिकाको पहिलो निर्वाचित मेयर हुन । त्यतिबेला वर्तमान मेयर कृष्ण खाँण झिनो मतान्तरले हारेका थिए । निवर्तमान मेयर दिलिपप्रताप खाँण उपमेयरमा विजयी भएका थिए । उनले एमालेका उम्मेदवार मानकाजी श्रेष्ठलाई हराएका थिए । साविक वालिङ, धनुवासे र पेखुबाघखोर गाविस मिलाएर २०५३ सालमा वालिङ नगरपालिका बनेको हो ।

यस्तै २०७४ को निर्वाचनमा पनि नेपाली कांग्रेस वालिङमा विजयी भएका थिए । निवर्तमान मेयर दिलिपप्रताप खाँण र एमालेका उम्मेदवार पूण्यप्रसाद अर्यालबिच प्रतिस्पर्धा हुँदा खाँण विजयी बनेका थिए । खाँणले १० हजार ६०० र अर्यालले ८ हजार ७४९ मत ल्याएका थिए । 

२०७३ सालको नयाँ प्रादेशिक संरचना अनुसार हालको वालिङ नगरपालिका, साविक माझकोट शिवालय, एलादी, जगतभञ्ज्याङ, केवरे भञ्ज्याङ, सिर्सेकोट, थुमपोखरा गाविस र छाङ्छाङ्, मल्याङ्कोट, तिनदोबाटे, कालिकाकोट, पेलाकोट र स्वरेको केही वडा मिलाएर वालिङ नगरपालिका बनाएको हो । 

प्रतिक्रिया

Facebook Comment