वालिङ नगरपालिकाः कार्य सम्पादन समितिमा एमाले ‘क्लीन स्वीप’

२ असार २०७९, स्याङ्जा । वालिङ नगरपालिकामा ‘वालिङ नगरपालिका कार्य सम्पादन समिति’ का संयोजकहरु चयन गरेका छन् । गत जेठ २३ गते बसेको कार्यपालिका बैठकले विभिन्न ७ वटा समितिका संयोजक चयन गरेका हुन् । समितिका बाँकी सदस्यहरु भने अझै पनि पुर्ति हुन सकेका छैनन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गठन हुने कार्य सम्पादन समितिमा नेकपा (एमाले) ‘क्लीन स्वीप’ भएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले मात्रैे सातै वटा समितिका संयोजकको जिम्मेवारी पाएका छन् ।
जसमध्ये संस्थागत विकास तथा सुशासन समितिका संयोजक जुनु थापा, आर्थिक विकास समिति सीता वि.क., सामाजिक विकास समिति युग माया पंगेनी, पूर्वाधार विकास समिति भगवती पाण्डे डुम्रे, वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक डण्डपानी पंगेनी, लेखा समिति संयोजक सुनिल खनाल र विधेयक समिति पोतप्रसाद लम्साल रहेका छन् ।
नगर प्रमुख कृष्ण खाँणको प्रस्तावमा समितिका संयोजकहरु चयन गरिएको नगर प्रवक्ता पदमराज गुरुङले बताए । ‘बहुमतको आधारमा भन्दा मेयरसापको प्रस्तावमा समितिका संयोजकहरु तोकिएका हुन्,’ उनले भने, ‘कार्यपालिका बैठकमा वहाँले ज–जसको नाम प्रस्ताव गर्नुभयो हामीले पारित गरेका हौं ।’
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नगरपालिकाको प्रमुखमा एमालेका तर्फबाट कृष्ण खाँण प्रमुख र उपप्रमुखमा कांग्रेसका तर्फबाट कविता तिवारी विजयी भएका थिए ।
१४ वटा वडाहरु मध्ये एमालेका ८ र कांग्रेसका ६ जना वडा अध्यक्षहरु निर्वाचित भएका थिए । तर, कार्यपालिका बैठक र नगरसभामा भने कांग्रेको बहुमत रहेको छ । २४ जनाको कार्यपालिका बैठकमा कांग्रेस १४, एमाले ९ र माओवादी केन्द्र १ रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment